अगामी २४ घण्टामा चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हालको मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपालको तराई वरिपरि र पूर्वमा तराईभन्दा दक्षिणतर्फ सक्रिय रहेको छ। यस कारण पूर्वी नेपालभन्दा पश्चिमी भूभागमा वर्षा बढी हुने अनुमान गरिएको छ।

हाल देशभर बादल पूर्ण रूपमा ढाकिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका केही भागमा पनि पानी परेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिमका पहाडी इलाकामा र मधेशसहितका तराई क्षेत्रका केही भागमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।

राति पनि अधिकांश स्थानमा बादल रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागमा मध्यम वर्षा हुने सम्भावना छ। कोशीका पहाडी भागमा भने एक-दुई स्थानमा भारी वर्षा पर्न सक्नेछ।

गण्डकी र लुम्बिनीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका तराई इलाकासहित कर्णालीका पहाडी भागमा केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले भू-क्षय, बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्ने चेतावनी दिइएको छ। यसले यातायात, कृषि, स्वास्थ्य, पर्यटन तथा नदी किनारका निर्माण कार्यमा असर पार्न सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई सतर्क रहन र पछिल्लो मौसमी जानकारी लिन अनुरोध गरिएको छ।