निलकण्ठ – ७ को हिटीमा वृद्धभत्ता परिचयपत्र नविकरण कार्य सुचारु

धादिङ । निलकण्ठ नगरपालिका वडा नं. ७ हिटीस्थित वडा कार्यालयमा वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत परिचयपत्र नविकरण कार्य औपचारिक रूपमा सुचारु गरिएको छ।

पछिल्ला केही दिनदेखि देखिएको सर्भर अवरुद्ध लगायत प्राविधिक समस्याका कारण सेवा प्रवाहमा अवरोध आइरहेकामा होराईजन खबरका उप सम्पादक नबराज श्रेष्ठले वडामा गुनासो गरे सगै मंगलबारदेखि नियमित सेवा सुचारु गरिएको वडा कार्यालयले जनाएको छ। विशेषतः सोमबारसम्म दैनिक रूपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूलाई असहज भएको थियो।

वडाका जनप्रतिनिधि शशि पोखरेलको पहलमा समस्याको तत्काल समाधानस्वरूप कार्यालय बिहान ७ः३० बजेबाट सञ्चालनमा ल्याउने निर्णय गरिएको थियो। निर्णयको सकारात्मक प्रभाव देखिएको छ। मङ्गलबार मात्रै १०० भन्दा बढी वृद्ध, अपाङ्ग, अशक्त र एकल महिलाहरूले परिचयपत्र नविकरण सेवा प्राप्त गरेका छन्।

वडामा ७० वर्षभन्दा माथिका वृद्ध/वृद्धा, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरूलाई लक्षित गर्दै परिचयपत्र नविकरण कार्य सञ्चालन गरिएको हो। सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा तथा अन्य सरकारी सुविधा प्राप्त गर्न यो परिचयपत्र आधारभूत कागजात हुने भएकाले नविकरण कार्यलाई उच्च प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ।

वडा सदस्य पोखरेलले वृद्ध नागरिकको सेवा र संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै कार्यालयको कार्यसमयमा आवश्यक सुधार गरिएको जानकारी दिनुभयो। साथै, उहाँले लक्षित वर्गका सबै सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित समयमा नै कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गर्नुभएको छ।

वृद्धभत्ता परिचयपत्र नविकरण कार्य भदौ महिनाको अन्त्यसम्म निरन्तर रूपमा सञ्चालन हुने वडाले जनाएको छ।