शेखर कोइरालाको सक्रियता: कांग्रेसभित्र नेतृत्वको नयाँ दाबी?

काठमाडौं, साउन ३ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पछिल्लो समय पार्टीभित्रको नेतृत्वको बहसलाई तीव्र बनाउँदै आएका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापति पदका प्रत्यासी बनेका उनले करिब ४० प्रतिशत मत प्राप्त गर्दै शक्तिशाली प्रतिस्पर्धीको रूपमा पहिचान बनाएका थिए।

गठबन्धनको वर्तमान स्वरूपप्रति असन्तुष्टि जनाउँदै आएका कोइरालाले बारम्बार राजनीतिक स्थिरता र सुशासनका पक्षमा आवाज उठाउँदै आएका छन्। उनका अनुसार कांग्रेस–एमाले गठबन्धनको अहिलेको सरकारले अपेक्षित काम गर्न नसकेको छ। उनले संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, र आर्थिक सुधारका एजेन्डाहरूमा सरकार असफल भएको आरोप लगाउँदै आएका छन्।

शेखर कोइरालाले हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्या भण्डारीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। यी भेटघाटलाई मुलुकको समसामयिक राजनीतिक परिदृश्यमा विशेष चासोका साथ हेरिएको छ।

उनले कांग्रेस नेतृत्वमा नै नयाँ सरकार बन्नुपर्ने आवश्यकता औंल्याउँदै माओवादीसँग समेत छलफल थालेका छन्। यता कांग्रेसको संस्थापन पक्ष भने एमालेसँग भएको आलोपालो सहमति अन्तर्गत एक वर्षपछि देउवा प्रधानमन्त्री बन्ने योजनामा टिकेको देखिन्छ।

पार्टीको १५औं महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका कोइरालालाई पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बेलाबेला कारबाहीको मागसमेत उठ्ने गरेको छ। तर, उनले पार्टीभित्र सुशासन, पारदर्शिता र वैकल्पिक नेतृत्वको खाँचो भएको बताउँदै आएका छन्।

शेखर कोइरालाको पछिल्लो सक्रियता पार्टीभित्र नेतृत्व परिवर्तनको संकेतका रूपमा हेरिएको छ। अबको राजनीतिक समीकरण र कांग्रेसभित्रको आन्तरिक अवस्था कता मोडिन्छ भन्ने चासो बढ्दो छ।