काठमाडौ । युरोपेली मुलुक क्रोएसिया पुगेका ११ जना नेपाली कामदारलाई भिसामा समस्या (कैफियत) देखिएपछि त्यहाँका अध्यागमन अधिकारीहरूले विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाएका छन्।
फिर्ता पठाइएकाहरूमा गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, पल्सीन लिम्बु, अमित कुमार विश्वकर्मा, लक्ष्मण मगर, मनिषा कार्की सुब्बा, उपेन्द्र प्रसाद वली र अतित तामाङ रहेका छन्। उनीहरूलाई बुधबार फ्लाई दुबईको उडानमार्फत काठमाडौं ल्याइएको हो।
स्रोतका अनुसार, यी सबै कामदार भिसामा गत असार २१ गते क्रोएसियाका लागि उडेका थिए। तर क्रोएसिया पुग्नासाथ अध्यागमन जाँचका क्रममा उनीहरूको भिसा शंकास्पद देखिएकोले त्यहाँका अधिकारीहरूले अनुसन्धान थालेका थिए।
चार दिनसम्मको छानबिनपछि उनीहरूको भिसामा प्राविधिक समस्या र प्रमाणपत्रको असत्यता भेटिएको भन्दै भिसा रद्द गरि नेपाल फर्काइएको जनाइएको छ।
यस घटनाले पुनः नेपाली श्रमिक युरोप गमनको प्रक्रिया र समस्या उजागर गरेको छ। धेरै नेपाली युवायुवती आकर्षक तलब र सुविधाको लोभमा परेर दलालहरूको झूटो आश्वासनमा परेका कारण यस्ता घटनामा फस्ने गरेका छन्।
सरोकारवाला निकायहरूले पनि युरोप लगायत तेस्रो मुलुक जान चाहने श्रमिकलाई सावधानी अपनाउन र प्रमाणित संस्था तथा कानुनी माध्यमबाट मात्र भिसा प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।






