त्रिपूरा सुन्दरी गाउँपालिकाको महिलाहरुलाई १ दिने नेतृत्व क्षमता विकास तालिम प्रदान

धादिङ । त्रिपूरा सुन्दरी गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गतको आमा समुहहरुलाई सुभारम्भ टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट नीलकण्ठ ४ धादिङको आयोजना र त्रिपूरा सुन्दरी गाउँपालिकाको आर्थिक सहयोगमा बुधबार सल्यानटार बजारमा तालिम प्रदान गरिएको हो । तालिममा ६१ जना महिला, आमा तथा दिदिबहिनीहरुको सहभागीता रहेको थियो ।

तालिममा प्रत्येक वडामा क्रियाशिल महिला समुहका अध्यक्ष तथा सचिव लगायत समुहका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बिना सिटौलाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजु उप्रेती रहनु भएको थियो त्यस्तै विशेष अतिथिमा गाउँपालिका उपाध्यक्ष देबराज धरेल, वडा अध्यक्ष हरि बिसि लगायतको अतिथि हुनुहुन्थ्यो भने तालिमको सहजीकरण दिपा कडेलले गर्नु भएको थियो ।

तालिम लिए पश्चात् समुहका महिला आमा दिदिबहिनीहरुले आफुहरुमा नेतृत्व क्षमता बिकास सम्बन्धि नयाँ सीपको बिकास भएको र समुहलाई कुशल रुपमा कसरी संचालन गर्ने भन्ने कुराहरू सिकेको बताउनु भयो ।

त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सिटौलाले यो तालिमले समुहका दिदिबहिनीहरुलाई धेरै उर्जा मिलेको र थप उद्घोषण तालिम समेत आवश्यक रहेकोले त्यस्को निम्ति पनि आगामी हिउदे अधिबेशनमा पालिकामा बजेट छुट्याउन माग गर्ने बताउनु भयो ।