नेपालको स्याटेलाइट भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने

काठमाडौं । नेपालको स्याटेलाइटलाई भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले यो स्याटेलाइटलाई अन्तरिक्षमा प्रक्षेपण गरिदिने भएको हो ।

नेपालको मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतको विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) बीच अगस्ट १० मा समझदारी पत्रमा हस्ताक्षर भएको हो । यसअघि भारतको विदेश मन्त्रालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग यसको सम्झौता गरेको थियो ।

यस वर्षको जनवरीमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा एनएसआईएल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच यसको सुरुवात गर्ने सम्झौता भएको थियो । एनएसआइएल भारतको अन्तरिक्ष एजेन्सी इसरोको व्यावसायिक शाखा हो।

मुनाल स्याटेलाइट नेपालमा नास्टले विकास गरेको हो । नेपाली अन्तरिक्ष स्टार्टअप अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) ले यो स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीलाई सहयोग गरेको छ ।

यसलाई पृथ्वीको सतहमा वनस्पति घनत्वको डाटाबेस बनाउन प्रयोग गरिनेछ। यसलाई एनएसआइएलको पोलर स्याटेलाइट लन्च भेहिकल (पीएसएलभी) बाट चाँडै प्रक्षेपण गर्ने अपेक्षा गरिएको छ।