धादिङ । सहिद स्मृति सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित सामूदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको रेडियो व्यवस्थापन समितीलाई स्वागत सम्मान बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि रेडियो बिहानी ९७.६ मेगाहर्जको स्टेशन म्यानेजर निर बहादुर तामाङको अध्यक्षता सञ्चालक समिती अध्यक्ष मनराज भण्डारी शैलेसको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सहिद स्मृति सञ्चार सहकारी संस्थाको पन्ध्रौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको नयाँ कार्यसमितीको पहिलो वैठकले रेडियो नयाँ व्यवस्थापन समिती गठन गरिएको हो । रेडियो व्यवस्थापन समितीमा पहिलो कार्यकालमा अध्यक्षमा कार्यरत अमृत तामाङ अध्यक्ष,सदस्यमा हरि कृष्ण लम्साल, हरि बहादुर दनै र स्टेशन म्यानेजर सदस्य सचिव रहनेगरी ४ सदस्यीय रेडियो व्यवस्थापन समिती चयन गरेको थियो ।
स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आतिथि मनराज भण्डारीले देशमा वर्गिय मुक्तिका आन्दोलन,राज्य व्यवस्था तथा सुशासन परिवर्तनका आन्दोलन,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विस्तार तथा सुधार,स्थानीय सरकारलाई जवाफदेही बनाउने,नागरिकको दैनिकी सेवा प्रवाहमा ध्यानाकर्षण बनाउने पक्षमा नेपाली जगतका पत्रकारीता र सूचना प्रवाह गर्ने रेडियो टेलिभिजन पत्रपत्रिकाले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गराउदै सस्तो सजिलो सहज र विश्वासिलो सञ्चार माध्यमको रुपमा स्थापित सामूदायिक रेडियो रेडियो बिहानीको उन्नती प्रगतीमा व्यवस्थापन समितीको योगदान रहने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै रेडियो व्यवस्थापन समिती अध्यक्ष अमृत तामाङले रेडियोको प्रभावकारीता र विश्वासनीयलाई थप मजबुद बनाउदै आधुनिक प्रविधीमैत्री सिस्टमबाट सूचना विज्ञापन समाचार कार्यक्रम प्रशारण गरि नागरिकहरुको मुखपत्रको रुपमा रेडियोलाई सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थामा कार्यरत पत्रकार कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । रेडियोले बि.स २०६६ साल मंसिर बाट ५०० वाट क्षमतामा दैनिक १७ घण्टा सूचना समाचार विज्ञापन मनोरञ्जन,कृषि, स्वास्थ्य,स्थानीय तहको सेवा प्रवाह बिकास निर्माण लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।