पोखरा, श्रद्धा आचार्य । पृथ्वीनारायण क्याम्पस पोखराको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित वृहत् नेपाली कविता लेखन तथा वाचन प्रतियोगितामा श्रद्धा आचार्यको तृतीय स्थान प्राप्त गर्न सफल कविता ।
“सिन्दुरले नपाेतेकाे प्रेम”
मलाई
तिम्रै हुनु छ भनेर
कतै हृदयद्वारभित्र
पालेर बसिरहेकी छु –
एउटा पवित्र भावना ।
प्रेमले अगाँलिरहेकी छु –
तिम्रै अविरल यादहरू ।
छट्पटिइरहेकी छु –
म तिम्रै अभावमा ।
अहिलेसम्म
तिमीले
जसरी मलाई
राखेका थियौ –
आफ्नो हृदयमा
गरेका थियौ – प्रेम
सायद
त्योभन्दा हजारौं गुणा बढी
मैले मेरो हृदयमा
सजाएकी थिएँ तिमीलाई ।
तिम्रै अविरल यादहरूकाे
भीमकाय भारीले थिचिएर
याे सहरको काेलाहलभित्र
म कतै हराइरहेकी छु – उहिलेदेखि
अल्मलिइरहेकी छु – अहिलेसम्म
नमेटिएका प्रेमका पदचापहरू
खोज्दै भौंतारिरहेकी छु – एक्लैएक्लै ।
बीच बाटोमै
अलपत्र परेका छन् –
मेरा एक्ला पदचापहरू
तिम्रै पदचापकाे अभावमा ।
सबैलाई
रातको शीतलता छर्ने
आकाशको
चिसो जुन जस्तै थियोे
हाम्रो पहिलो प्रेम पनि
तर
तिमीलाई मेरो प्रेम धेरै भएपछि
मेरो मनमुटुलाई पनि
त्यही जून जस्तै चिसो बनाएर गयौ ।
तिमी गएपछि
यो अनुहारमा
फूल्न छाेडेका छन् – गुराँसहरु
रुदारुदै थाकेका आँखाहरूले
बगाउन छाेडेका छन् – आँसुहरु
हजारौँ चाेट खपेकाे घाइते मुटु
पिल्सिएकाे छ – त्यही पीडाले ।
चाँदनी रातमा
हृदयका आलापहरु,
छरिएका मुटुका टुक्रा जस्तै
यतैकतै अल्मलिइरहेको पाउछु –
असरल्ल वातावरणभित्र ।
तिमी त
अन्त कतै
फूल बनेर फुलेका छाै
तर म
उडिरहेकी छु –
सिमलको भुवाजस्तै
दिशाहीन भएर बादलमाथि ।
न त म आफ्नै हुन सकेकी छु
न त म तिम्रो हुन सकेकी छु
न त फेरि तिम्रै तस्वीर अँगालेर
पाेख्न सकेकी छु – मनको भावना ।
चाहेर पनि कसैलाई सुनाउन सक्दिनँ
मेरो मनमुटुभित्र गुम्सिएका पीडाहरु
चाहेर पनि तिम्रो हुन नसकेकी मैले
न त खुशी हुँदै रमाएर सजाउन सक्छु –
खाली सिउदोमा एक चिम्टी सिन्दुर ।
तिमी त
आफ्नो हृदय
अर्कैलाई सुम्पेर गएको मान्छे
म त सिन्दुर बिनाकाे प्रेम कल्पेर
तिमीलाई नै पर्खिरहेकी मान्छे !
पहिलो प्रेमले डसेर
आहत भइरहेकी मैले
सोधेकी छु – तिमीलाई
मेरो जीवनकै अन्तिम प्रश्न ।
विश्वास र प्रेमको साधनाले
सौभाग्य लेख्न सकिदैन र प्रिय ?
सिन्दुर बिना प्रेम गर्न सकिदैन र प्रिय ?
✍️श्रद्धा आचार्य , पोखरा