भक्तपुर, रमा दुलाल । हुने भए सिलाई दिन्थे
अश्रुका यी ग्रन्थिलाई,
तिम्रो जस्तो ओभानो आँखा
देखाइ दिन्थे सबैलाई ।
भन्छन् प्रेममा पागल हुन्छन्
त्यसै पागल होइन्छ र ?
तिम्रा दुई नयन हेर्दा
अश्रु कसको बग्दैन र ?
यादहरूको सिरानी हाली
सधैँ कहाँ निदाइन्छ र ?
आँखाहरू नसुक्दैमा
रातहरू ओझेल हुँदैनन् र ?
थाहा छैन के भयो यो ?
लौ न तिमी नै भनिदेऊ,
हरेक पलमा तिम्रै याद
विश्राम केही क्षण त लिन देऊ ।