अन्तरास्ट्रिय खबर । इरानले स्ट्रेट अफ हर्मुज पार गरिरहेका दुई पानीजहाज नियन्त्रणमा लिएको छ भने अर्को जहाजमाथि गोलाबारी गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, Islamic Revolutionary Guard Corps (आईआरजिसी) को नौसैनिक युनिटले बुधबार ती जहाजहरूलाई नियन्त्रणमा लिएको हो। सुरुवातमा चेतावनी दिइए पनि जहाज नरोकिएपछि गनबोटबाट आक्रमण गरिएको बताइएको छ।
नियन्त्रणमा लिइएका जहाजमध्ये एउटा लाइबेरियाको झण्डा बोकेको “एपामिनोन्डास” र अर्को पानामाको झण्डा बोकेको “एमएससी फ्रान्सेस्का” रहेको जनाइएको छ। ती जहाजलाई समुद्री नियम उल्लंघनको आरोपमा इरानी बन्दरगाहतर्फ लगिएको छ।
घटनामा केही संरचनात्मक क्षति भए पनि चालकदल सुरक्षित रहेको बताइएको छ। त्यस्तै, सोही दिन तेस्रो जहाजमाथि पनि आक्रमण गरिएको भए पनि पछि अघि बढ्न दिइएको छ।
यस घटनापछि Strait of Hormuz क्षेत्रमा तनाव थप बढेको छ। विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत ओसारपसार हुने यो मार्गमा अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल १०० डलर नाघेको छ।
United States ले भने यी जहाजहरू आफ्नो वा इसराइलसँग सम्बन्धित नभएकाले युद्धविराम उल्लंघन नहुने जनाएको छ। तर उसले इरानविरुद्ध समुद्री नाकाबन्दी जारी राखेको छ।
इरानले नाकाबन्दी हटेपछि मात्र वार्तामा बस्ने अडान लिएको छ। यही कारण प्रस्तावित कूटनीतिक वार्ता समेत स्थगित भएको छ।
विश्लेषकहरूका अनुसार हर्मुज क्षेत्रमा बढ्दो तनावले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ।






