काठमाडौ । धादिङको बेनिघाट रोराङ–७ चरौंदी नजिक पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। ज्यान गुमाउनेमध्ये हालसम्म ९ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ भने १० जनाको पहिचान खुल्न बाँकी छ।
सनाखत भएका मृतक
सनाखत भएकामध्ये १ जना विदेशी र ८ जना नेपाली छन्। ।।।।।
२४ वर्षीय ब्रिटिस नागरिक स्टेवार्ट डोमिनिक एन्थन
कास्की पोखरा–३० का विवेक बस्नेत
स्याङ्जा वालिङ–१४ घर भई नागार्जुन–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर ढेंकर
तनहुँ व्यास–४ का अन्दाजी ४० वर्षीय ओमकुमार मल्ल
धादिङ त्रिपुरासुन्दरी–४ का अन्दाजी ३० वर्षीय इन्जिनियर ढुंगाना
तनहुँ शुक्लागण्डकी–७ की अन्दाजी ५५ वर्षीया विष्णुमाया ढकाल
काठमाडौं बौद्ध टुसालका अन्दाजी २९ वर्षीय लोमाङ गोले
तनहुँ भिमान–६ का अन्दाजी ४६ वर्षीय हरिप्रसाद सिग्देल
पाल्पा तानसेन–१ का अन्दाजी ५५ वर्षीय नबिन्द्र श्रेष्ठ
अन्य शवको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। केही शवमा ट्याटु तथा शारीरिक विशेषताका आधारमा पहिचान खोज्ने काम जारी छ।
घाइतेको अवस्था
दुर्घटनामा घाइते भएका २५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना (एक गम्भीर)
नेशनल मेडिकल कलेज कलंकीमा १० जना (२ गम्भीर)
टिचिङ अस्पताल मलेखुमा १ जना सामान्य घाइते
बसमा कुल ४४ जना सवार थिए।
अनुसन्धान जारी
दुर्घटनाको कारण खुल्न बाँकी छ। प्रहरीले चालकको अवस्था, सडकको मोड, बसको गति र प्राविधिक पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ। शवको सनाखतपछि मात्रै मृतकको विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ।






