धादिङमा पूर्व वडा अध्यक्ष र उनका छोरामाथि जबरजस्ती करणी उद्योगको मुद्दा

धादिङ– नीलकण्ठ नगरपालिका–८ का पूर्व वडा अध्यक्ष ६५ वर्षीय गुणबहादुर थपलिया र उनका ४० वर्षीय छोरा रामशरण (केशव) थपलियामाथि जबरजस्ती करणी उद्योग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालका अनुसार आरोपित केशव थपलियाले घर नजिकै ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी उद्योग गरेका थिए। पीडितले गुहार मागेपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको थियो।

पीडितका अनुसार बाबु गुणबहादुरले कुटपिट गर्दै छोरालाई साथ दिएको आरोप छ। घटनापछि धादिङ अस्पतालमा उपचार गराई मंगलबार प्रहरीमा उजुरी दर्ता गरिएको हो।

प्रहरीले दुवै जनालाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालत धादिङमा पेश गरेको र अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जनाएको छ।

पीडितले मंसिर ८ गते राष्ट्रिय महिला आयोगमा पनि न्याय माग्दै उजुरी दर्ता गरेकी छन्।

गुणबहादुर थपलिया २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष बनेका थिए।