रुबीभ्यालीको नयाँ प्रशासनिक भवनबाट मंसिर २६ देखि सेवा सुचारु हुने: ४ दिन सेवा बन्द

धादिङ । रुवी भ्याली गाउँपालिकाले सेर्तुङस्थित पुरानो स्थानबाट प्रशासनिक सेवा अब वडा नं. ४, वृचेतमा बनेको नयाँ प्रशासनिक भवनबाट सञ्चालन गर्ने भएको छ ।
मिति २०८२।०८।०९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले २०८२।०८।२६ गते (शुक्रबार) देखि नयाँ भवनबाट सेवा प्रारम्भ गर्ने निर्णय गरेको हो ।
कार्यालय स्थानान्तरण, सामग्री सार्ने तथा भौतिक व्यवस्थापनका कारण २०८२।०८।२२ देखि २५ गतेसम्म सेवा प्रवाहमा केही असहजता हुन सक्ने जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले दिए । उनले सेवाग्राहीलाई पर्ने असुविधाप्रति क्षमा पनि प्रकट गरे ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङले नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गर्नु गाउँपालिकाको दीर्घकालीन लक्ष्य पूरा भएको बताउँदै भने,“वृचेतस्थित नयाँ भवन सञ्चालनमा आएपछि जनताले थप सहज, छरितो र प्रभावकारी सेवा पाउनेछन् । भविष्यमा सेवाको गुणस्तर अझ उकास्ने गरी गाउँपालिका प्रतिबद्ध छ ।”
उनका अनुसार भौगोलिक कठिनाइका बीच सम्पन्न नयाँ कार्यालय भवन गाउँपालिकाको विकास यात्रामा महत्वपूर्ण उपलब्धि हुने बताए ।