देशका विभिन्न स्थानमा बढ्दै चिसो, न्यूनतम तापक्रम घट्दै

काठमाडौ । राजधानी काठमाडौ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ। बिहीबार बिहान मापन गरिएको तापक्रम अघिल्ला दिनभन्दा झन् घटेको देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान करिब ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम करिब १७ डिग्री सेल्सियसको आसपास मापन गरिएको हो। हिजोको तुलनामा तापक्रम थोरै घटेकाले बिहानको समयमा चिसो महसुस हुने क्रम बढेको मौसमविद्हरूले बताएका छन्।

मनसुन विस्तारै हट्दै जाँदा पश्चिमी वायु सक्रिय भई मौसम चिसिँदै गएको छ। पछिल्ला दिनमा देशका हिमाली क्षेत्रमा हल्का हिउँसमेत पर्न थालेको छ।
वातावरणविद्हरूका अनुसार यही समयमा “पोस्ट–मनसुन” सिजन सुरु हुन्छ, जुन अक्टोबरदेखि नोभेम्बरसम्म रहन्छ। यसपछि डिसेम्बरबाट “विन्टर सिजन” सुरु हुने र तापक्रम अझै घट्ने सम्भावना छ।

हाल काठमाडौँसहित मध्य तथा पश्चिमी भागका धेरै स्थानमा बिहान र बेलुकीको तापक्रम तीव्र गतिमा घट्दै गएको छ। मौसमविद्हरूले हिँडडुल वा बिहानको कार्यमा निस्कँदा न्यानो कपडा प्रयोग गर्न सुझाव दिएका छन्।