अन्तर्राष्ट्रिय खबर । गाजा शहरमाथि नियन्त्रण गर्ने इजरायली योजना अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचनाको विषय बनेको छ। संयुक्त राष्ट्रसंघसहित बेलायत, फ्रान्स, क्यानडा र जर्मनीले यस कदमको विरोध जनाएका छन्। जर्मनीले त सैन्य सामग्री आपूर्ति रोकिनुपर्ने सुझावसमेत दिएको छ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले भने, बाह्य दबाब वा प्रतिबन्धको चेतावनीले आफ्नो निर्णयमा असर नपर्ने दाबी गरेका छन्। उनका अनुसार, सरकार पाँच बुँदे कार्ययोजना अनुसार गाजामा अगाडि बढ्नेछ, जसमा शहरको पूर्ण नियन्त्रण, करिब दस लाख बासिन्दालाई दक्षिणतिर सार्ने, शरणार्थी शिविर तथा बन्धक रहेका क्षेत्रमा नियन्त्रण स्थापना गर्ने जस्ता बुँदा छन्।
योजनाविरुद्ध इजरायल भित्र पनि आवाज उठेका छन्, जहाँ केही सैन्य अधिकारी र बन्धकका परिवारले असहमति जनाएका छन्। उता, हमासले यसलाई युद्ध अपराध ठहर गर्दै इजरायललाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।






