धादिङकी पार्वती कार्कीले एनसेल बाट एक करोड जितिन्

धादिङ । गंगाजमुना गाउँपालिका – ६ की पार्वती कार्कीले एनसेलले ल्याएको “सधैं अन करोडपति” योजनाबाट एक करोड रुपैयाँ नगद जितेकी छन्। पार्वती करिब आठ वर्षदेखि एनसेलको सिम प्रयोग गर्दै आइरहेकी थिइन्। उनले असार महिनाको अन्त्यतिर ९९ रुपैयाँको एक रिन्युअल प्याक खरिद गरेकी थिइन्, जुन योजनामा सहभागी हुनका लागि पर्याप्त थियो।

२०७२ सालको भूकम्पमा आफ्नो कान्छो छोरालाई गुमाएकी पार्वतीले त्यसपछि निकै संघर्ष गर्दै जीवन अगाडि बढाउँदै आएकी थिइन्। घर पनि भत्किएपछि उनले ऋण लिएर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन्। श्रीमान अहिले बहराइनमा छन् भने छोरा काठमाडौंमा अध्ययनरत छन्।

एनसेलको काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। पुरस्कार ग्रहण गर्दै पार्वतीले आफ्ना संघर्षको फल पाएको बताउँदै सबैलाई आशावादी भएर मेहनत गर्न सन्देश दिइन्। उनले अब यो रकमबाट बाँकी ऋण तिर्ने र श्रीमानसँग नेपालमै केही व्यवसाय सुरु गर्ने योजना बनाएकी छिन्।

उक्त योजनाअन्तर्गत ५० जनाले साप्ताहिक रूपमा एक–एक लाख रुपैयाँ जितेका छन्। पार्वतीलाई प्रदान गरिएको यो बम्पर पुरस्कार पाँचौं हप्तासम्मको अवधिमा घोषित गरिएको हो।