
अन्तर्राष्ट्रिय खबर । अमेरिका र चीनबीच बहुप्रतीक्षित व्यापार सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग नयाँ सम्झौतामा हस्ताक्षर भएको पुष्टि गरेका छन्। वाणिज्यमन्त्री हावर्ड लुटनिकका अनुसार सम्झौता केही दिनअघि नै सम्पन्न भइसकेको हो।
यस सम्झौताले भन्सार शुल्क वृद्धिको खतरा कम गर्दै दुई देशबीच स्थगित व्यापार पुनः सक्रिय हुने संकेत दिएको छ। सम्झौताका बिस्तृत विवरण अझै सार्वजनिक नभए पनि मे महिनामा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणामस्वरूप सम्झौतामा पुगिएको हो। त्यसपछि लन्डनमा थप वार्ता हुँदै सहमति औपचारिक बनाइएको जनाइएको छ।
चीनले दुर्लभ खनिजहरूको निर्यात स्वीकृति प्रक्रिया तीव्र बनाउने घोषणा गरेसँगै वार्तामा सकारात्मक संकेत देखिएको हो। यी खनिजहरू विद्युतीय सवारी, रोबोट, टर्बाइन लगायत उच्च प्रविधिमा प्रयोग हुने भएकाले यो कदमले विश्वव्यापी उत्पादन र आपूर्ति सञ्जाललाई सहज बनाउने विश्वास गरिएको छ।
यता अमेरिका र भारतबीच पनि चाँडै व्यापार सम्झौता हुने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पका अनुसार “हामी एकपछि अर्को सम्झौता गर्दै जान्छौँ।”
यो व्यापार सम्झौताको प्रभाव अमेरिका र चीनको मात्र नभई विश्वव्यापी बजार र प्रविधि क्षेत्रलाई समेत पर्नेछ।