कतारस्थित अमेरिकी सैन्य अखडामाथि इरानको आक्रमण

अन्तर्राष्ट्रिय खबर । मध्यपूर्वको तनाव चुलिँदै जाँदा इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएका समाचारअनुसार अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेस मा इरानले मिसाइल प्रहार गरेको हो।

इजरायल–इरान तनाव चर्किएसँगै इरानले अमेरिकी सैन्य अखडालाई निशाना बनाएको बताइएको छ। अमेरिकाले पनि इरानका आणविक केन्द्रहरूमा हमला थालेपछि यो कारवाही भएको अनुमान गरिएको छ। उक्त सैन्य अखडा मध्यपूर्वमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अड्डा हो।

कतारले आकाशमा हुने सबै उडान स्थगित गरेको छ भने अमेरिका र बेलायतले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्। हालसम्म आक्रमणबाट भएको क्षतिको विवरण बाहिर आएको छैन।

कतारमा अहिले लाखौं विदेशी नागरिक बसोबास गर्दै आएका छन्, जसमा नेपाली, भारतीय, बंगलादेशी र अन्य देशका कामदारहरू बढी रहेका छन्। घटनापछि कतारलगायत खाडी मुलुकहरूमा सुरक्षा सतर्कता कडा पारिएको छ।

अल उदीद एयर बेस बाट अमेरिका सिरिया, इराक र अफगानिस्तान लगायत देशहरूमा सैन्य पूर्वाधार व्यवस्थापन गर्दै आएको छ। खाडी क्षेत्रमा रहेका अन्य अमेरिकी सैन्य अखडाहरू समेत उच्च सतर्कता अवस्थामा राखिएको जनाइएको छ।