त्रिपुरासुन्दरी गाउँपालिका द्वारा ६४ करोड ९० लाखको बजेट सार्बजनिक

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६४ करोड ९० लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

आईतबार सम्पन्न गाउँसभामा पालिका प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको जानकारी गराए। उनका अनुसार आगामी वर्षभित्र सबै वडा कार्यालयसम्म सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै प्राङ्गारिक मल, मौरीपालन, माटो परीक्षण, मास उत्पादन तथा कृषि एम्बुलेन्स सञ्चालनको योजना समेटिएको छ। त्यसैगरी ‘एक विद्यालय, एक करेसाबारी’ र ‘दिवा खाजामा रैथाने बाली’ अभियान अघि बढाइने छ।

गाउँपालिकाको बजेटबाट माध्यमिक शिक्षा निशुल्क कार्यक्रमलाई निरन्तरता दिइनेछ भने स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि ५ करोड ८० हजार रुपैयाँ छुट्याइएको छ। जिविकोपार्जन कार्यक्रमका लागि ५५ लाख २२ हजार, खेलकुद क्षेत्रमा २५ लाख, पूर्वाधार विकासमा २५ करोड ६७ लाख, प्रत्येक वडाका लागि ४० लाख र विपद् व्यवस्थापन कोषमा ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

उपप्रमुखले बजेटले सेवा प्रवाहलाई प्रभावकारी बनाउने, रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउने र दिगो विकासलाई टेवा दिने अपेक्षा व्यक्त गरेका छन्।