त्रिपुरासुन्दरी गाउँपालिकामा वेकरी तथा मौरीपालन तालिम सुरु

धादिङ, जेठ २१ — त्रिपुरासुन्दरी गाउँपालिकाले जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत १० दिने वेकरी तालिम सुरु गरेको छ।

गाउँपालिकाको वडा नं. २ मा आयोजना गरिएको तालिमको उद्घाटन कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल र वडा अध्यक्ष कृष्ण ब खत्रीको उपस्थितिमा सम्पन्न भएको हो। तालिममा स्थानीय महिलाहरूलाई घरेलु उत्पादन र उद्यमशिलता विकासका सीप प्रदान गरिने जनाइएको छ।

त्यसैगरी, गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत वडा नं. ३ मा मौरीपालन तालिम समेत सुरु गरिएको छ। उक्त तालिमको उद्घाटन कार्यक्रम उपाध्यक्ष देवराज धरेल र वडा अध्यक्ष कमल थापाको उपस्थितिमा सम्पन्न भएको हो।

गाउँपालिकाले स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। तालिमपछि सहभागी महिलाहरूलाई आफ्नै व्यवसाय सञ्चालनमा प्रोत्साहन गरिने गाउँपालिकाले जानकारी दिएको छ।