धादिङ । नेपाली जनप्रगतिशील मंच, साउदी अरेबियाका सचिव तथा समाजसेवी हरिभक्त मगरातिको विशेष प्रस्तुतिमा गायक, सर्जक तथा समाजसेवी सन्दिप स्याम्चेन तामाङले नयाँ पार्टी गीत सार्वजनिक गरेका छन्।
तामाङ म्हेन्दोमाया, लोकदोहोरी, सेलो, पप र आधुनिक गीतमा आफुलाई अब्बल साबित गरिसकेका स्याम्चेनले यसपटक ‘राम्रो काम गर्ने भनेकै माओवादीले हो’ भन्ने भाव समेटिएको गीत ल्याएका हुन्। यस गीतमा पछिल्लो समय माओवादी केन्द्रले गरेका काम र जनताको भरोसा समेटिएको छ।
यसअघिका चर्चित पार्टी गीतहरू ‘अगाडि बढ प्रचण्ड’, ‘हाम्रो देश राम्रो देश, को बनाउने माओवादीले हो’ जस्ता गीतले दर्शक श्रोताको मन जितिसकेका स्याम्चेनले नयाँ गीतप्रति पनि उस्तै विश्वास व्यक्त गरेका छन्।
बहुआयामिक प्रतिभा भएका स्याम्चेन
खनियाबास गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष, प्रेस सेन्टर नेपाल धादिङ उपाध्यक्ष तथा जनकलाकार बागमती प्रदेश सदस्य स्यम्चेन सानैदेखि गीतसंगीतमा सक्रिय छन्। समयसापेक्ष तामाङ तथा नेपाली गीतहरू रच्ने, गाउने र समाजसेवामा समेत सक्रिय स्याम्चेनले नेपाली कथानक चलचित्र ‘उस्ताद जि’ मा कथा लेखेर समेत आफ्नो प्रतिभा देखाइसकेका छन्।
नयाँ सार्वजनिक गीतमा लय र शब्द सन्दिप स्याम्चेनकै रहेको छ भने स्वर स्याम्चेनसँगै मङ्गलसिंह प्रजा र रितु लामाले दिएका छन्। गीतको संगीत संयोजन राजु खड्काले गरेका हुन्।
सामाजिक सन्देश र राजनीतिक चेतनाले भरिएको यो गीतलाई धेरैले मन पराउनेमा आशावादी रहेको गायक सन्दिप स्याम्चेन बताउँछन्।