रुवीभ्यालीको सबै वडाहरुमा मानव बेचबिखन न्यूनीकरणको लागि कार्यक्रम हुदै

धादिङ । नारी संरक्षण केन्द्र, हेटौंडाको आयोजनामा मानव बेचबिखन न्यूनीकरण तथा मानव अधिकार संरक्षण र प्रवर्द्धन कार्यक्रम रुवीभ्यालीमा हुने भएको छ। मानव बेचबिखन जस्तो गम्भीर अपराध न्यूनीकरण गर्दै स्थानीय स्तरमा सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम संचालन गरिन लागेको हो।

कार्यक्रम गाउँपालिकाको वडा नं. १ स्थित लिङ्जोबाट जेठ १४ गतेबाट सुरु भई पालिकाका सबै वडामा सञ्चालन गरिनेछ। वडास्तरीय रुपमा सञ्चालन हुने कार्यक्रममा मानव अधिकार, मानव बेचबिखनको जोखिम, सुरक्षाको उपाय तथा शिक्षा सम्बन्धी विभिन्न विषयमा सचेतना दिने योजना रहेको आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक जेरोम घलेका अनुसार, “दुरदराजका बस्तीहरूमा मानव बेचबिखनको जोखिम बढी भएकाले स्थानीय टोलस्तरमै पुगेर सचेतना फैलाउने उद्देश्यले कार्यक्रम ल्याइएको हो।”

सो कार्यक्रम अन्तर्गत वडास्तरीय टोल विकास समिति, महिला समूह, युवा क्लब, विद्यालय र सरोकारवाला निकायहरूलाई समेत समेटेर मानव बेचबिखन न्यूनीकरणमा सामूहिक भूमिका खेल्ने वातावरण बनाइनेछ।

कार्यक्रमले ग्रामीण भेगमा मानव अधिकारको संरक्षण तथा शिक्षा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।