लापामा पहिलो पटक शिक्षकहरूका लागि सूचना प्रविधि तालिमको सुरु

धादिङ । रुबी भ्याली – ५ लापामा नमुना वडा समाजवादी कार्यक्रम अन्तर्गत पहिलो पटक शिक्षकहरूलाई लक्षित गरी सूचना प्रविधि (IT) सम्बन्धी आधारभूत तालिम सुरु गरिएको छ।

तालिम गत ४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। लापा वडा नम्बर ५ मा रहेका सात विद्यालयका शिक्षकहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो।

यस तालिममा सहभागी शिक्षकहरूलाई कम्प्युटर तथा सूचना प्रविधिको आधारभूत प्रयोग, डिजिटल शिक्षण विधि, अनलाइन स्रोतको उपयोग, र प्रविधिको माध्यमबाट पठनपाठनलाई प्रभावकारी बनाउने सीपहरू प्रदान गरिनेछ।

स्थानीय तहले प्रविधिमैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित सुरु गरेको यो तालिमले ग्रामीण भेगको शिक्षण प्रणालीलाई प्रविधिसँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ। लापा क्षेत्रमा प्रविधिमा आधारित तालिम पहिलो पटक सञ्चालनमा आएको हो, जसले आगामी दिनमा डिजिटल शिक्षाको ढोका खोल्ने अपेक्षा गरिएको छ।