माओवादी केन्द्र धादिङले गुटबन्दी नरहेको दाबी

धादिङ, जेष्ठ ४ । नेकपा (माओवादी केन्द्र) धादिङले जिल्लामा कुनै प्रकारको गुटबन्दी वा भीत्रि विवाद नरहेको स्पष्ट पारेको छ। हाल केही अनलाइन मिडियामा पार्टी नेतृत्वविहीन भएको र आन्तरिक विवाद चर्किएको भन्ने समाचारहरू प्रकाशित भएपछि पार्टीले विज्ञप्ति जारी गर्दै सो समाचार भ्रामक र तथ्यहीन भएको जनाएको हो।

जिल्ला संयोजक मनराज भण्डारीद्वारा जारी विज्ञप्तिमा पार्टीको विधान अनुसार गाउँ र नगर सम्मेलन सम्पन्न भएसँगै पुरानो समिति स्वतः विघटन भइसकेको र नयाँ समिति गठन प्रक्रियामा रहेको उल्लेख गरिएको छ। बागमती प्रदेश समितिको निर्देशनअनुसार जिल्लास्तरीय भेला गरी १०० सदस्यीय पदेन जिल्ला समिति गठन भइसकेको र सचिव चयन बाँकी रहेको जानकारी समेत दिइएको छ।

अर्को संयोजक चयन नभएसम्म मनराज भण्डारी (शैलेस) संयोजक र पुष्प विक्रम मल्ल (सिंह) जिल्ला इन्चार्जको जिम्मेवारीमा रहने विज्ञप्तिमा उल्लेख छ।

पार्टीले गलत सूचनामा आधारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जिम्मेवार पत्रकारिता गर्न सम्बन्धित मिडियालाई आग्रह समेत गरेको छ।