धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–९, नियालपानीमा खुकुरी प्रहार हुँदा एक वृद्ध गम्भीर घाइते भएका छन्।
बिहीबार दिउँसो करिब १ बजे सोही स्थानका ६०/६२ वर्षीय बाबुकाजी लम्सालले ८८ वर्षीय जगन्नाथ लम्सालमाथि खुकुरी प्रहार गरेका हुन्। प्रहारबाट वृद्ध लम्सालको अनुहारमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रल्हाद सिलवालको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धादिङबेँसीमा प्राथमिक उपचारपछि थप उपचारका लागि साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न बाबुकाजी लम्साललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखिएको छ।
प्रहरीका अनुसार घटना स्थल धादिङबेँसीबाट करिब १२/१३ किलोमिटर उत्तर–पश्चिमतर्फ पर्छ। घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको जनाइएको छ।