तीन दिन देशभर पानी, चट्याङ र हिउँ पर्ने सम्भावना

देशभरको मौसममा परिवर्तन आएको छ। जल तथा मौसम विभागका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न भागमा वर्षा, मेघगर्जन, चट्याङ र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले गर्दा यस्तो अवस्था देखिएको विभागले जनाएको छ।

विशेषगरी हिमाली क्षेत्रमा हल्का हिमपात र पहाड तथा तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आइतबार र सोमबारसम्म पनि देशका धेरै स्थानको मौसम खुलेर आउने सम्भावना कम देखिएको छ।

यस कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसैबीच काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि बादल लागेको छ। केही ठाउँमा राति पानी परेको थियो भने दिनभर आंशिक बदली रहने अनुमान गरिएको छ।