धादिङ, वैशाख १६ — त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–१ स्थित विभिन्न होटेल, मेडिकल पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा मंगलबार बजार अनुगमन कार्यक्रम सम्पन्न भएको छ। अनुगमन टोलीको नेतृत्व गाउँपालिकाका शाखा अधिकृत नवराज श्रेष्ठले गर्नु भएको थियो।
गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको निरीक्षणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधिहरू तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो।
बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई मध्यनजर गर्दै खाद्य वस्तुको म्याद, मूल्य, सफाइ, नापतौललगायतका विषयमा अनुगमन गरिएको थियो। साथै व्यवसायीहरूलाई आवश्यक सुझाव र निर्देशन समेत प्रदान गरिएको अनुगमन टोलीले जनाएको छ।
गाउँपालिकाले उपभोक्ताको हितलाई ध्यानमा राखी चाडपर्व र विभिन्न अवसरहरूमा समेत आकस्मिक रूपमा बजार अनुगमनलाई निरन्तरता दिने जानकारी उपाध्यक्ष धरेलले दिनु भयो।