धादिङ — धादिङको रुबी भ्याली गाउँपालिका–३ सेर्तुङ र वडा नं २ तिप्लिङ जोड्ने अदाखोलामा ३३.५२ मिटर लामो बेलीब्रीज पुल निर्माण हुने भएको छ। साङ्कोष–तिप्लिङ सडकखण्डको महत्वपूर्ण स्थानमा पर्ने सो खोलामा वर्षैभरि यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले आफ्नै स्रोतमा पुल निर्माण प्रक्रिया थालेको हो।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङका अनुसार पटक–पटक पक्की पुलको माग भएपनि सुनुवाइ नभएपछि स्थानीय आवश्यकता र जनताको मागलाई मध्यनजर गर्दै पुल निर्माणको निर्णय गरिएको हो।
गाउँपालिकाले २०८२ साल वैशाख १६ गते सार्वजनिक सूचना जारी गर्दै अनुमानित लागत १ करोड ३४ लाख रुपैयाँ रहने पुल निर्माणका लागि इच्छुक निर्माण व्यवसायीहरूलाई बोलपत्र आह्वान गरेको छ।
पुल निर्माणपछि साङ्कोष, सेर्तुङ, तिप्लिङ र आसपासका बासिन्दालाई सहज यातायातसहित शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।