धादिङ — नेपाली सेनाले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा सोमबार बिहान विशेष तालिम अभ्यास अन्तर्गत प्यारा जम्प सम्पन्न गरेको छ। सेनाको भैरवनाथ गण अन्तर्गतको टोलीले सल्यानटारस्थित रानीपौवामा दुई चरणमा ५० जना सैनिकले प्यारा जम्प गरेका हुन्।
सेनाले विभिन्न जिल्लामा आफ्ना सैनिकहरुको तालिम सशक्त पार्न नियमित रूपमा प्यारा जम्प अभ्यास गर्दै आएको छ। सल्यानटारमा सम्पन्न आजको जम्पले पर्यटकीय क्षेत्रको रुपमा चिनिँदै आएको सल्यानटारलाई थप प्रचार–प्रसार गर्न मद्दत पुग्ने स्थानीयको विश्वास छ।
स्थानीयवासीहरुले सेनाको यो अभ्यासले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरुको अनुसार, यस्तो कार्यक्रमले सल्यानटारलाई साहसिक पर्यटन गन्तव्यका रूपमा पनि चिनाउन मद्दत गर्नेछ।