शिक्षक आन्दोलनमा बल प्रयोग भएको भन्दै संसदमा विरोध

काठमाडौं। शिक्षकहरुको आन्दोलनप्रति सरकारले कठोर कदम चालेको भन्दै प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले विरोध जनाएका छन्।

सोमबारको संसद बैठकको आकस्मिक समयमा सांसदहरुले आन्दोलनरत शिक्षकहरुमाथि बल प्रयोग गरेर आन्दोलन दबाउने प्रयास गरिरहेको आरोप लगाए।

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण धर्नामा बसिरहेका शिक्षकहरुलाई सरकारले नियन्त्रणमा लिएको घटना निन्दनीय रहेको बताए। उनले संविधान निर्माणसँगै शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने ऐन समयमा ल्याउन नसक्दा समस्या बढेको टिप्पणी गरे।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षकहरुको मागलाई वेवास्ता गरेर बल प्रयोग गर्नु गलत भएको बताइन्। उनले सरकारलाई वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरिन्।

राप्रपाकी सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा राज्यले जर्बजस्ती हस्तक्षेप गरेको आरोप लगाइन्। उनले शिक्षा ऐन पारित गरी शिक्षकलाई पठनपाठनमा सहज वातावरण दिनुपर्नेमा जोड दिइन्।

सांसदहरुले आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरुको उपचारमा ध्यान दिन र समस्या संवादबाट समाधान गर्न सरकारलाई आग्रह गरेका थिए।