धादिङ । रुबीभ्याली गाउँपालिका–५, लापामा इस्टर सन्डे विशेष कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन आज गाउँपालिका अध्यक्ष रामसिंह तामाङले गर्नुहुने भएको छ।
सामुदायिक लापा इसाई समाजको पहलमा बैशाख ५ देखि ८ गतेसम्म सञ्चालन हुने यस विशेष कार्यक्रममा धार्मिक चेतना, सामाजिक सद्भाव, र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
भलिबल प्रतियोगितामा गाउँपालिकाभरिका मण्डली टिमहरूले सहभागिता जनाउनेछन्। प्रतियोगितामा विजेता टिमहरूले नेपाल सरकारको नियमानुसार कर कट्टीपछि निम्नानुसारको पुरस्कार प्राप्त गर्नेछन्:
पहिलो स्थान: नगद रु ३०,०००, मेडल, प्रमाणपत्र र ट्रफी
दोस्रो स्थान: नगद रु २०,०००, मेडल, प्रमाणपत्र र ट्रफी
तेस्रो स्थान: नगद रु १०,०००, मेडल, प्रमाणपत्र र ट्रफी
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष रामसिंह तामाङ रहनुहुनेछ भने विशेष अतिथिमा वडा नं. ६ का अध्यक्ष समीर गुरुङ रहनेछन्।
इस्टर सन्डेको अवसरमा धार्मिक तथा खेलकुद गतिविधिलाई एकसाथ जोड्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रममा सबैलाई सहभागिताका लागि आयोजकले आग्रह गरेका छन्।