भारतले नेपाली सिमेन्ट र प्लाइउड निर्यातको प्रतिबन्ध खोल्यो, बीआईएस प्रमाणपत्र नवीकरण

काठमाडौं । भारतले नेपाली सिमेन्ट र प्लाइउड उद्योगका लागि आवश्यक बीआईएस (ब्युरो अफ इण्डियन स्ट्याण्डर्ड) प्रमाणपत्र नवीकरण गरेको छ, जसले नेपालबाट यी सामग्रीहरूको निर्यात पुनः सहज बनाएको छ।

भारतले बीआईएस नवीकरण प्रक्रियामा ढिलाइ गर्दा नेपालबाट करिब पाँच महिनादेखि सिमेन्ट र एक महिनादेखि प्लाइउडको निर्यात रोकिएको थियो। तर, हाल भारतले उद्योगहरूको बीआईएस प्रमाणपत्र धमाधम नवीकरण गरिरहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार हालसम्म १०–१२ उद्योगको बीआईएस नवीकरण भइसकेको छ भने अन्य उद्योगहरूको प्रक्रिया अघि बढिरहेको छ। उनले भने, “भारतले बीआईएस नवीकरण सहज बनाएको छ, जसले गर्दा अब निर्यातमा कुनै अवरोध रहने छैन।”

यसैगरी, अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाका अनुसार उनीहरूको उद्योगको बीआईएस प्रमाणपत्र नवीकरण भइसकेको छ। “अब भारततर्फ सिमेन्ट निर्यात पुनः सुचारु हुनेछ,” उनले भने।

अन्य केही सिमेन्ट उद्योगहरूले भारतमा निर्यात गरिरहेका छन्, जसको बीआईएस प्रमाणपत्रको म्याद अझै एक महिना बाँकी छ। बाँकी आधा दर्जन सिमेन्ट उद्योगहरूको नवीकरण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको व्यवसायीहरूले बताएका छन्।

औद्योगिक क्षेत्रका व्यवसायीहरूका अनुसार भारतले हाल प्लाइउड, सिमेन्ट र स्टिल उद्योगहरूका लागि बीआईएस प्रमाणपत्र नवीकरण प्रक्रियालाई सरल बनाएको छ। यसले नेपाली उत्पादनहरूको भारतीय बजारमा आपूर्ति पुनः सुनिश्चित गर्नेछ।

(स्रोत: नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संघ र व्यवसायीहरू)