लापामा विद्युत सेवा अवरोध, मर्मतको लागि १५/२० दिन लाग्न सक्ने: हजारौं स्थानीय अन्धकारमा

धादिङ । अझै पनि केन्द्रिय विद्युत लाइन बिस्तार हुन नसकेको रुवीभ्याली-५, लापामा रहेको लघु जलविद्युतमा समस्या उत्पन्न हुँदा स्थानीयहरू झण्डै ३ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।

स्थानीय लघु जलविद्युतको जेनेरेटर तथा अन्य सामग्री बिग्रिएपछि विद्युत आपूर्ति ठप्प भएको हो। मर्मत कार्यका लागि आवश्यक उपकरण तथा प्रविधि अभावका कारण यसलाई पुनः सञ्चालन गर्न कम्तीमा १५ देखि २० दिन लाग्ने अनुमान गरिएको छ।

लापा लगायतका दुर्गम बस्तीहरूमा विद्युत सेवा सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरण धादिङले पटक-पटक प्रयास गरे तापनि केन्द्रिय प्रसारण लाइन विस्तारको काम विभिन्न कारणले अल्झिरहेको छ। स्थानीय सरकार, वडा कार्यालय तथा अन्य सरोकारवाला निकायबीच समन्वयको अभावले समस्या झन् जटिल बनेको विद्युत प्राधिकरण धादिङले जनाएको छ।

स्थानीय बासिन्दाहरूले लामो समयदेखि स्थायी समाधानको माग गर्दै आएका छन्। विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवनयापन, विद्यालय, स्वास्थ्य सेवा, तथा अन्य अत्यावश्यक कार्यमा समेत कठिनाइ भइरहेको छ। सम्बन्धित निकायहरूले चाँडो पहल नगरे लापाका बासिन्दाहरू अझै लामो समय अन्धकारमा बस्नुपर्ने स्थिति आउनेछ।