धादिङ। धादिङबेशी स्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन पुनः स्थगित भएको छ। मंगलबारका लागि तय गरिएको निर्वाचन विभिन्न विद्यार्थी संगठनहरूको असहमति र आन्दोलनका कारण रोकिएको हो।
क्याम्पस प्रशासनका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउँदै गर्दा अखिल क्रान्तिकारी र अनेरास्ववियूले असहमति जनाउँदै तालाबन्दी तथा अन्य अवरोध सृजना गरेका थिए। यसले निर्वाचन प्रक्रियामा असहज परिस्थिति उत्पन्न गरेपछि सञ्चालक समितिको आकस्मिक बैठक बसेर हाललाई निर्वाचन स्थगित गर्ने निर्णय गरिएको क्याम्पस प्रशासनले जनाएको छ।
स्ववियू निर्वाचन स्थगित भएपछि विद्यार्थीहरुमा निराशा छाएको छ भने क्याम्पस प्रशासनले समस्या समाधानका लागि विद्यार्थी संगठनहरूसँग छलफल गरी चाँडै निर्वाचनको नयाँ मिति तोक्ने बताएको छ।