बलिउडको दोस्रो सर्वाधिक कमाउने फिल्म बन्यो ‘छावा’

मुम्बई – बलिउड अभिनेता विक्की कौशलको ऐतिहासिक चलचित्र ‘छावा’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै बलिउडमा सबैभन्दा धेरै आम्दानी गर्ने दोस्रो फिल्म बनेको छ।

फिल्म रिलिज भएको ४० दिन पूरा भइसकेको छ, र यस अवधिमा यसले ५९६.९७ करोड रुपैयाँ कमाउन सफल भएको छ। यसअघि ‘स्त्री २’ लाई उछिन्दै, ‘छावा’ अब बलिउडको दोस्रो ठूलो कमाउने फिल्म बनेको हो।

शाहरुख खान अभिनीत ‘जवान’ बलिउड बक्स अफिसको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म रहँदै आएको छ, जसको कुल आम्दानी ६४०.२५ करोड रुपैयाँ रहेको छ। अब ‘छावा’ यो रेकर्ड तोड्न सक्षम हुने वा नहुने भन्ने चासो बलिउड दर्शकमाझ बढेको छ।

लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘छावा’ मा विक्की कौशलले छत्रपति सम्भाजी महाराजको भूमिका निभाएका छन्। फिल्ममा रश्मिका मन्डन्ना मुख्य अभिनेत्रीको भूमिकामा छिन्। करिब १३० करोड रुपैयाँको बजेटमा निर्माण भएको यो फिल्म ऐतिहासिक कथावस्तुका कारण दर्शकमाझ निकै रुचाइएको छ।

फिल्मको सफलताले बलिउडमा ऐतिहासिक कथावस्तु भएका चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको संकेत गरेको छ।