धादिङ । नीलकण्ठ नगरपालिकामा तीन दिवसीय पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। सामुदायिक रेडियो बिहानी (९७.६ मेगाहर्ज) को आयोजनामा भएको तालिम नेपाल पत्रकार महासंघ धादिङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धादिङको समन्वय तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।
तालिममा नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका ३५ जना प्रशिक्षार्थी सहभागी भएका थिए। उनीहरूलाई समाचार संकलन, रिपोर्टिङ, मोबाइल पत्रकारिता, फोटो पत्रकारिता, अन्तर्वार्ता लिने शैली तथा पत्रकारिताको आचारसंहिताका विषयमा प्रशिक्षण दिइयो।
राष्ट्रिय समाचार समितिका सम्पादक हरि लामिछाने मुख्य प्रशिक्षकका रूपमा रहेका तालिमको समापन कार्यक्रममा सहिद स्मृति सञ्चार सहकारी संस्था लि.का अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षता थियो। प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा रहेका कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समिति संयोजक लक्ष्मण रम्तेल, रेडियो बिहानीका व्यवस्थापन समिति अध्यक्ष अमृत तामाङ, नेपाल पत्रकार महासंघ धादिङका कोषाध्यक्ष बद्रि अधिकारी लगायतको उपस्थिति रहेको थियो।