धादिङ । आगामी पाँच वर्षका लागि रूबीभ्याली गाउँपालिकाले आवधिक योजना निर्माण प्रक्रिया अगाडि बढाएको छ। यसै क्रममा गाउँपालिकाले प्रारम्भिक कार्यशाला गोष्ठी चैत १० गते आयोजना गर्ने भएको छ।
परामर्शदाता तथा प्राविधिक सहयोगमा तयार गरिंदै गरेको आर्थिक योजना (२०८१/८२ – २०८५/८६) लाई मूर्तरूप दिन कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ। उक्त कार्यशालामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहनेछ।
गाउँपालिकाका अनुसार कार्यशालामा आर्थिक योजनाको प्राथमिकता, सम्भावित कार्यक्रम तथा बजेट विनियोजनका विषयमा छलफल गरिनेछ। विकास योजनाहरू प्रभावकारी बनाउन सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासनिक अधिकृत लविन कुमार गोलेले जानकारी दिए।
कार्यशाला रूबी भ्याली गाउँपालिकाको सभा हलमा बिहान ११:०० बजे सुरु हुनेछ। गाउँपालिकाले समृद्धि र दिगो विकासलाई लक्षित गरी योजना निर्माण प्रक्रिया अघि बढाइरहेको बताएको छ।