देशभर एसईई परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि देशभर सञ्चालन भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी छन्।

देशभरका २,०७९ परीक्षा केन्द्र बाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भइरहेको छ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमका लागि अनिवार्य संस्कृत रचना, र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा सञ्चालन भएको छ।

गत वर्षको तुलनामा परीक्षार्थीको संख्या ४९ हजार २८६ ले वृद्धि भएको छ। परीक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रत्येक केन्द्रमा अनुगमन टोली खटाइएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा १५० जना विद्यार्थी भएका केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० विद्यार्थी बराबर एकजना निरीक्षक रहने व्यवस्था गरिएको छ। ७५ जनाभन्दा कम विद्यार्थी भएका केन्द्रहरूमा भने सहायक केन्द्राध्यक्ष नराख्ने निर्णय गरिएको छ।

यस वर्षको एसईई परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सम्बन्धित निकायले कडाइका साथ अनुगमन गरिरहेको परीक्षा बोर्डले जनाएको छ।