२५ करोड बराबरको विदेशी मुद्रा सहित कुसाङ लामा पक्राउ

काठमाडौं । प्रहरीले २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र यूरोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का कुसाङ लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार लामाले ट्रकको सिटमुनी फल्स बटम बनाएर डलर र यूरो लुकाएर चीन तस्करी गर्न खोजेका थिए। उनीसँग १३ लाख ७५ हजार एक सय ५० यूरो र तीन लाख २० हजार ८५० अमेरिकी डलर फेला परेको छ।

यसअघि पनि उनी २०७३ सालमा सुन तस्करीको आरोपमा पक्राउ परेका थिए र पाँच वर्ष जेल बसेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा चिनियाँ नागरिकहरूले उनलाई उक्त विदेशी मुद्रा दिएको खुल्न आएको छ। प्रहरीले घटनामा संलग्न गिरोहबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।