आज स्ववियु निर्वाचन : धादिङको ३ क्याम्पसमा हुँदै निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न हुँदैछ। केही क्याम्पसमा निर्वाचन उत्साहपूर्वक भइरहेको छ भने कतिपय स्थानमा विवाद र अवरोधका कारण समस्या उत्पन्न भएको छ।

यस्तै धादिङमा भने ३ क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदैछ । जस्मा बेनीघाट रोराङ मलेखु स्थित जय बागेश्वरी बहुमुखी क्याम्पस, धुनीबेसी नगरपालिकामा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पस र बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा आज स्ववियु निर्वाचन हुदैछ ।

त्रिवि अन्तर्गत ६४ आंगिक क्याम्पस तथा १,०५३ सम्बन्धन प्राप्त क्याम्पसहरू छन्। तीमध्ये केही क्याम्पसमा उम्मेदवारी दर्ता हुने क्रममै विद्यार्थी संगठनबीच विवाद देखिएको थियो। कतिपय स्थानमा सहमतिका आधारमा निर्विरोध निर्वाचन सम्पन्न भएको छ भने केही क्याम्पसमा प्रक्रिया अगाडि बढाउन चुनौती देखिएको छ।

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा फर्जी परिचयपत्र वितरणको आरोपमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। संगठनले निष्पक्ष छानबिनको माग गर्दै निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याएको छ। त्यस्तै, अमृत साइन्स क्याम्पसमा सुरक्षाको कारण देखाउँदै निर्वाचन स्थगित गरिएको छ।

त्रिविमा स्ववियु निर्वाचनको इतिहास लामो छ। वि.सं. २०१८-०१९ सालदेखि प्रत्यक्ष मतदान प्रणाली लागू भए पनि हाल मिश्रित प्रणाली अपनाइएको छ। विद्यार्थी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले नियमित रूपमा निर्वाचन गरिँदै आएको छ।

स्ववियु निर्वाचनका क्रममा विद्यार्थीको सक्रिय सहभागिता रहेको देखिन्छ। कतिपय क्याम्पसमा प्रतिस्पर्धी माहोल रहँदा केही स्थानमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ। विश्वविद्यालय प्रशासनले निर्वाचन निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाका उपाय अपनाएको जनाएको छ।