धादिङ । नेपाल पत्रकार महासंघ धादिङले २०८१ साल चैत ४ गते बसेको बैठकमा पत्रकारहरूको हक, हित र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले विभिन्न निर्णयहरू गरेको छ। बैठकको अध्यक्षता नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले गरेका थिए।
बैठकमा पत्रकारहरूको सदस्यता नविकरणको प्रक्रिया सुरू गरिएको छ। सदस्यहरूले कार्यालयमा सम्पर्क गरेर आफ्नो सदस्यता नविकरण गर्न सक्नेछन्, जसका लागि चैत महिनाको अन्त्यसम्मको समय तोकिएको छ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाले सूचना अधिकारीको रूपमा सन्तोषराज श्रेष्ठ, गुनासो सुन्ने अधिकारीका रूपमा बद्री अधिकारी, र लैंगिक फोकल पर्सनको रूपमा अस्मिता पोखरेललाई नियुक्त गरेको छ।
महासंघले २०८१ सालको स्थापना दिवसको अवसरमा चैत १६ गते संचारकर्मी र संचार संस्थाहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि आयोजना गर्ने निर्णय गरेको छ।
संगठनको जिन्सि अभिलेख दुरुस्त नगरेको कारणले अभिलेख कार्यका लागि अनिल नेपालीलाई जिम्मेवारी दिइएको छ। यसका अतिरिक्त, महासंघको कार्यालयको नियमित सञ्चालनका लागि कर्मचारी नियुक्ति गरिएको छ।
नेपाल पत्रकार महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष राजेन्द्र प्रताप शाहको शालिक निर्माणका लागि साझेदारी गर्न पनि आह्वान गरिएको छ।