काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो।
३०औं आईजीपी बसन्त कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबार राति १२ बजेपछि अवकाशमा जाँदै छन्। कुँवरको अवकाशको पूर्वसन्ध्यामा सरकारले थापालाई प्रहरी प्रमुख बनाउने निर्णय लिएको हो।
प्रहरी प्रमुखका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए। तीनै जना आकांक्षीले अन्तिम समयसम्म समर्थन जुटाउने प्रयास गरेका थिए। तर, सरकारले वरिष्ठताको आधारमा पहिलो वरियतामा रहेका थापालाई आईजीपी नियुक्त गरेको हो।
नवनियुक्त आईजीपी थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए। एआईजी तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा प्रमुख छन् भने गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुन्।
सरकारको निर्णयसँगै थापाले अब नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।