धादिङ । निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम फेरि अवरुद्ध भएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले खानेपानीको उचित व्यवस्था गर्नुपर्ने माग राख्दै आइतबारदेखि विरोध जनाएका हुन्।
स्थानीयले आफ्नो माग सम्बोधन नभएसम्म निर्माण कार्य अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। उनीहरूले सुरुङमार्गको प्रवेशद्वारमा ब्यानर राखेर प्रदर्शन गरेका छन्, जसले गर्दा सुरुङ निर्माणको काम पूर्ण रूपमा रोकिएको छ।
यसअघि पनि विभिन्न समयमा स्थानीय अवरोधका कारण निर्माण कार्य प्रभावित भएको थियो। फागुन १८ गते धादिङतर्फ पनि यस्तै अवरोध भएको थियो। आयोजनाका अनुसार कुनै थप अवरोध नआए असोजभित्रै सुरुङमार्ग सञ्चालन गर्ने लक्ष्य राखिएको छ। हालसम्म सुरुङमार्गको ८६ प्रतिशत काम पूरा भइसकेको छ।