काठमाडौं । फागुन शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा (होली) हर्षोल्लासका साथ मनाइँदै छ। विभिन्न रंग तथा अबिर एकअर्कालाई लगाएर आपसी प्रेम, सद्भाव र मेलमिलापको सन्देश दिने यो पर्व विशेष गरी हिन्दू समुदायले धूमधामका साथ मनाउने गर्छन्।
काठमाडौं, पोखरा, धरान लगायतका शहरमा होली विशेष कार्यक्रम आयोजना गरिएका छन्। संगीत, नृत्य तथा सामूहिक जमघटका माध्यमबाट यो पर्व उल्लासमय बनाइएको छ। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रशासनले शान्तिपूर्ण रूपमा पर्व मनाउन आग्रह गरेको छ।
यस अवसरमा सरकारले पहाडी क्षेत्रमा सार्वजनिक बिदा दिएको छ भने तराई क्षेत्रमा भने भोलि फागु पूर्णिमा मनाइने छ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व आपसी मेलमिलाप र भाइचारा अभिवृद्धि गर्ने अवसरका रूपमा पनि लिइन्छ।