रुवीभ्यालीको च्याम्रादेवी मा.वि.मा पहिलोपटक एसइईको परीक्षा केन्द्र

धादिङ । रुवीभ्यालीmaa पहिलोपटक माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा हुने भएको छ ।
आगामी चैत ७ गतेबाट सुरु हुने (एसइई) का लागि सेर्तुङ–३ मा रहेको च्याम्रादेवी माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।
पालिकाभित्र अध्ययनरत विद्यार्थीहरूकाे टाढा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गर्दै आइसब्रेक गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए ।
भौगोलिक विकटता कारण विगतमा परीक्षा केन्द्र नहुँदा रुवीभ्यालीका विद्यार्थीले समस्या झेल्दै आएका थिए ।
परीक्षा केन्द्र रहेको च्याम्रा माविबाहेक गाउँपालिका भित्रका अन्य माध्यमिक विद्यालयका विद्यार्थीले सोही स्थानबाट परीक्षा दिन पाउनेछन् ।
रुवीभ्यालीका चारवटा विद्यालयबाट नियमिततर्फ एसइई परीक्षामा १३६ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् भने ग्रेडवृद्धिका लागि परीक्षामा ६५ जनाले सहभागिता जनाउने गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति उत्तम लाल तामाङले जानकारी दिए । रुवीभ्यालीबाट २०१ जना विद्यार्थीले एसइई परीक्षा दिनेछन् ।