नेपाली सेना दिवसको अवसरमा पत्रकार रौनियारलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान

काठमाडौं । नेपाली सेनाको २६२औं सेना दिवसको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले एपिवानकर्मी बिकाश रौनियारलाई प्रधान सेनापति प्रशंसा निशान (COAS of Commendation Badge) प्रदान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा सैनिक मञ्ज टुँडिखेलमा आयोजित भव्य समारोहमा प्रधान सेनापति सिग्देलले रौनियारलाई प्रशंसा निशान प्रदान गरेका हुन्।

पत्रकारिता मार्फत नेपाली सेनाको योगदान र प्रतिष्ठालाई नेपाली जनतामाझ पुर्याएको उल्लेखनीय भूमिकाको कदर गर्दै रौनियारलाई प्रशंसा निशान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा प्रधान सेनापति सिग्देलले सेनाको पेशागत क्षमता, अनुशासन र राष्ट्रिय सेवामा सेनाले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै पत्रकार र सञ्चारमाध्यमहरूले पनि राष्ट्रिय सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको बताए।

सेना दिवसको अवसरमा टुँडिखेलमा विभिन्न सैन्य प्रदर्शन, मार्चपास, सांस्कृतिक कार्यक्रम र नेपाली सेनाको विविध कार्यहरुको अवलोकन गराइएको थियो।

कार्यक्रममा सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विदेशी कूटनीतिज्ञहरू, पत्रकारहरू र सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।