आजदेखि धादिङ बेसिमा लोक सांस्कृतिक महोत्सव हुदैँ

धादिङ । आज देखि धादिङमा लोक सांस्कृतिक महोत्सव २०८१ सुरु हुदैँछ । ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित आजदेखि जिल्लाको सदरमुकाम धादिङबेसीमा महोत्सव सुरु गर्न लागिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गरेको हो । आजदेखि सुरु हुने महोत्सवको उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए । बिहान १० बजे देखि धादिङबेसी पुछारबजारबाट बहुसाँस्कृतिक भाषा भाषीको प्रतियोगितात्मक झाँकी सहितको र्याली हुनेछ । अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । प्रतियोगितामा धादिङका १६ वटा समुहले नाम दर्ता गरिसकेको उनले बताए ।

धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संयोजक कोइरालाले बताए । २०६२ मंसिर १६ गते एक दिने लोक सांस्कृतिक उत्सव गरिएको थियो । तर लोक सांस्कृतिक महोत्सव भनेर गरिएको यो पहिलो हो । ‘कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको छ’ उनले भने– ‘अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । मौलिक र जातिय पहिचान झल्काउने खानालाई प्राथमिकतामा राखिएको छ । एक सय वटा स्टल रहनेछ । माघ २० गतेसम्म चल्ने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र तीन करोड बराबरको आर्थिक कारोबार हुने आंकलन गरिएको छ ।’

मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइनन् । ‘यो महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको छ’ उनले भनिन् ।