आज नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको आज ‘ब्रेक थ्रु’ हुँदै छ । आयोजना प्रमुख नविनमान श्रेष्ठले आज दिउँसो सुरुङको ब्रेक थ्रु गर्ने तयारी रहेको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको उपस्थितिमा सुरुङ मार्गको ब्रेक थ्रु गरिने छ । फागुन २८ गते नै ब्रेक थ्रु गर्ने तयारी रहे पनि स्थानीयको विरोधका कारण ढिला हुन गएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको आपतकालीन मार्गको ब्रेक थ्रु २०८० साउन २२ गते नै भइसकेको छ ।

४२ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखेर २०७६ कात्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरिए पनि कोभिड महामारीका कारण निर्माणकार्य रोकिएको थियो । २ दशमलब ६८ किमी लामो सुरुङ मार्ग बनेपछि राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सवारी जाम कम हुनेछ ।

काठमाडौंको बलम्बुदेखि धादिङको सिन्ने खोला जोड्ने सुरुङ मार्गको पहुँच सडकको काम पनि तीब्र गतिमा भइरहेको छ । झण्डै २२ अर्ब लागत रहेको यो आयोजना निर्माणको काम जापानीज ठेकेदार कम्पनी हाजमा कर्पोरेसनले पाएको थियो ।

सुरुङ मार्गको ब्रेक थ्रु भएपनि यो सडक सञ्चालनमा अझै एक वर्ष लाग्ने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।