अंग्रेजी र नेपाली दुवै भाषामा त्रिविले स्नातक तहको प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको समेत जनाएको छ ।

‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ’ त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ।

परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको हो।

नेपाली भाषा माध्यममा पढाइ हुने बिषयको पनि प्रश्न अंग्रेजीमा सोध्दा धेरै विद्यार्थीहरुलाई समस्या भएको थियो ।