धादिङ । राष्ट्र निर्माणमा युवाको भूमिकालाई उपेक्षा गर्न सकिँदैन । युवा शक्ति भविष्यको राष्ट्र निर्माणको संवाहक हो । युवा प्रगतिका अग्रगामी दूत हुन् । तिनको शिक्षा, विद्यालय र विश्वविद्यालयहरूमा हुने हुर्काइले समृद्ध भविष्यको लागि जगको काम गर्छ । तर, नेपालको वर्तमान परिदृश्यले भने निराशाजनक झाँकी प्रस्तुत गरेको छ ।
रित्ता शैक्षिक संस्थाहरू, युवा प्रतिभाको पलायन भएको र संकटको चपेटामा रहेको अर्थतन्त्रबीच समाधान खोज्नेभन्दा समस्या निम्त्याउने जमर्को बलियो हुन्छ । विद्यालय र विश्वविद्यालय ज्ञान उत्पादन तथा प्रशोधनको थलो, विद्यालयका शिक्षक र विश्वविद्यालयका प्राध्यापक भविष्य निर्माणको मार्गदर्शक र विद्यार्थी भविष्यको कर्णधार हुन् । नेपालको विशेषगरी उच्च माध्यमिक शिक्षा पूरा गरेपछि युवा विद्यार्थीको विदेश पलायनको चिन्ताजनक प्रवृत्ति देखिएको छ । यसले देशको आर्थिक गति र शैक्षिक संस्थाहरूको अस्तित्वमा समेत व्यापक नकारात्मक प्रभाव पार्छ ।
रित्ता विद्यालय र विश्वविद्यालय
नेपालका विश्वविद्यालय र विद्यालयहरूको उजाड परिसरले एउटा गम्भीर वास्तविकतालाई उजागर गर्छ । आर्थिक कठिनाइ र गरिबीको लामो छायाँ परेको छ ज्ञानको यी जीवन्त केन्द्रहरू खाली हुँदा । शिक्षक/विद्यार्थी अनुपात, एक समय आदर्श मानिएको थियो ।
अब उत्सुक दिमागभन्दा धेरै शिक्षक सङ्ख्याले असन्तुलनतिर सुझाव दिन्छ । शिक्षक प्राध्यापकले नै ज्ञान लिएर वा दिएर भविष्य नेपालमा कहाँ छ र ? बरु विदेशमा दु:ख गर भन्न थालेका छन् । विद्यार्थीले पढेर अर्थात् शिक्षा लिएर के नै हुन्छ र अब बिदेश गएर कमाउने हो ठान्न थालेका छन् ।
पढेको मानिस कसले पो कमाएको छ र ? उही सबाल र जवाफ दिनहुँजसो हुने गर्छ । देशका विश्वविद्यालयका कक्षा रित्तै छन् तर विदेश पठाउने कन्सल्टेन्सीमा भने खचाखच छन् । उत्पादन गर्ने खेत बाँझो छ तर राहदानी विभागमा खुट्टा टेक्ने ठाँउ छैन ।
स्वदेशमा अन्धकार : मरुभूमिमा भविष्यको खोजी
नेपालले सामना गरिरहेको एउटा चुनौती यसरी विदेशिएका युवालाई रोक्नु हो । उच्च माध्यमिक तहका विद्यार्थीहरू विदेशमा अध्ययन गर्न चाहने प्रवृत्तिले चुनौतीलाई अझ बढाएको छ । उच्च माध्यमिक शिक्षा राष्ट्रिय विकासतर्फ नभई बौद्धिक पुँजीको निकासतर्फ लैजाने पाइला बनेको छ । स्वदेशमा आर्थिक अनिश्चितताले बढेको विदेशको आकर्षण संकटमा परिणत भएको छ ।
आफू जन्मेहुर्केको राष्ट्रमा त भविष्य देखिँदैन भने मरुभूमिमा भविष्यको खोजी गर्दै भौँतारिएका युवाको पीडा कसले पो देख्छ र ? उत्पादन गर्ने गाउँका खेतबारी खाली छन् । खेतीपाती गर्ने युवा नै विदेश गएपछि गाउँमा बूढापाकाबाहेक अरू कोही छैनन् । गाउँ त बृद्धाश्रममा परिणत भएका छन् ।
ज्ञान लिने विद्यालय र विश्वविद्यालयमा विद्यार्थीभन्दा शिक्षक/प्राध्यापक बढी छन् । ज्ञानको मन्दिर नै रित्तो हुनु कति दुर्भाग्यपूर्ण होला ? सामान्यतया गाउँघरको विद्यालयमा अलिअलि विद्यार्थी हुनु पनि उनीहरुको उमेर नपुगेरमात्रै हो नत्र ती पनि विदेश नै जान्थे ।
अरू देशले वस्तु निर्यात गर्छन् हामी युवा जनशक्ति निर्यात गर्छौँ । अहिले कुनै विद्यार्थीलाई किन पढेको भनेर सोध्यो भने विदेश जान भनेर उत्तर दिन्छ्न् । यो जतिको विडम्बना अरू के हुन सक्छ ? वस्तु निर्यातले आत्मनिर्भर बनाउँछ भने जनक्ति निर्यातले परनिर्भरता बढाउँछ ।
नेपाल आर्थिक संकट र प्रतिभा पलायनको दोहोरो चुनौतीसँग जुधिरहेको छ । परिकल्पना गरिएको उत्पादन र सेवाको निर्यात युवाको निर्यातमा परिणत भएको छ । यसले राष्ट्रलाई बौद्धिकरूपमा पनि दरिद्र बनाएको छ । देश बनाउँला भन्ने नेताहरू जनताको अवस्था नहेरी ‘ मिसन -८४’को दौडमा छन् ।
यस निराशाजनक परिदृश्यमा निर्णायक सुधारको आवश्यकता छ । विद्यालय र विश्वविद्यालयको पुनरुत्थानलाई शैक्षिक संस्थाका रूपमा मात्र नभई राष्ट्रिय पुनरुत्थानको यज्ञका रूपमा लिनुपर्छ ।
नेपालले आर्थिक असमानतालाई सम्बोधन गर्न बृहत् नीतिगत सुधारहरू गर्नैपर्छ । घरेलु अवसरहरूको पुनरुत्थान गर्दा वैदेशिक शिक्षाको मोह कम हुने सुनिश्चित गर्नुपर्छ । सबै तहका शिक्षामा लगानी, रोजगारी सृजनाले बौद्धिक पलायन रोक्न सक्छ । युवा शक्ति फर्काउनभन्दा पनि यहाँ भएका युवा विद्यार्थी रोक्न सरकारले नीति बनाई लगानीको वातावरण, शैक्षिक क्षेत्र सुधार र समयमा नतिजा प्रकाशन गरी अवसर प्रदान गर्न सक्नुपर्छ ।